६ जना रक्तदातामा १ जनामात्र महिला, एबी नेगेटिभ रगत हुने जम्मा शून्य दशमलव ४२ प्रतिशत

क्लाउडपत्रिका
काठमाडौ, १२ साउन । नेपालमा ६ जना रक्तदातामा १ जनामात्र महिला रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार कुल रक्तदातामध्ये करीब ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रहेका छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा केन्द्रीय रक्त सञ्चार सेवाद्वारा ६२,३५३ यूनिट रक्त संकलन गरिएको मध्ये ५२,२८५ युनिट पुरुष रक्तदाताबाट र १०,०६८ यूनिट महिला रगतदाताबाट संकलन भएको छ ।

सो आर्थिक वर्षमा मुुुलुकभर २ लाख ६२ हजार ४३९ यूनिट रगत संकलन गरिएको र ३ लाख ४४ हजार ९३३ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएको छ । २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १५७ यूनिट रगत संकलन गरिएको थियो, नेपालमा रक्तसञ्चार सेवाको ५२ औँ स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने ।

नेपालको रक्तसञ्चार सेवाको पहिलो १५ वर्ष रगतको किनबेच गर्ने पेशेवर व्यक्तिहरूबाट, मजदुरहरुबाट रगत संकलन ज्यादा हुने गर्दथ्यो । २०३९÷०४० सालदेखि त्यस्ता व्यक्तिहरूबाट रगत नलिइ स्वयंसेवी रगतदाताहरूको संख्यामा वृद्धिगरी रगत संकलनलाई तीब्रता दिइएको थियो । त्यसपश्चात, संस्थागत रूपमा रगत दान गर्नेहरूको अभिरुचिमा वृद्धि भएको छ र अहिले विभिन्न संघ–संस्था तथा निकायहरूद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रमबाट रगत संकलन वढ्दै गइरहेको छ ।

केन्द्रीय रक्त सञ्चार केन्द्रको तथ्याँक अनुसार यस वर्ष केन्द्रीय सेवाकेन्द्रमा जम्मा ६२ हजार तीन सय रक्त संकलन भएकोमा ५० हजार ६ सय रगत स्वयंसेवी रक्तदाताबाट सँकलन गरिएको हो । यसरी अझै १८ प्रतिशत रगत सेवा विरामीका आफन्त वा साथीबाट सोधभर्ना गर्नुपरेको अवस्था छ ।

नेगेटिभ रगत समूह ३ प्रतिशतको हाराहारीमा
यस वर्ष गरिएको रगत समूहको विश्लेषण अनुसार नेपाल भरमा ३.१० प्रतिशत मानिसहरुको रक्तसमूह ए, वी, ओ र एबी नेगेटिभ रहेको छ । तर, उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने मानिसहरु २.९ प्रतिशत छन् । सवैभन्दा दुर्लभ एवी नेगेटीभ समूह परेको छ जसको भार ०.४२ प्रतिशत रहेको छ । यसबर्षका रक्तदातामध्ये एचआइभी पोजेटिभ हुने ६६ जना देखिएको छ भने हेपेटाइटिस वी र सी देखिएका दाताहरुको सँख्या क्रमस ४६६ र ३५१ रहेको छ ।

संघसंस्थाको सहयोग वढ्दो
आ.व. २०७४/०७५ मा नेपालभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,८३४ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको छ । जसमा, केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १२९८ पटक विभिन्न संघ–संस्थाहरूबाट घुम्ती रगत संकलन कार्यक्रम भएको छ ।

हेमोफिलिया सोसाइटीका विरामीहरुलाई ३१६ युनिट रगत तथा रक्ततत्व सहुलियत शुल्कमा उपलब्ध गराइएको छ । थालेसेमिया सोसाइटीका बिरामीहरुलाई पनि २३०५ युनिट रगत तथा रक्ततत्व सहुलियत शुल्कमा उपलब्ध गराइएको छ ।
थापाका अनुसार अहिले नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको स्थापना भएको छ ।

काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अतिरिक्त विराटनगर, पोखरा, नेपालगंज, कैलाली र चितवन गरी ५ स्थानमा क्षेत्रीय रक्त सञ्चार सेवा संचालन भइरहेको जानकारी नेरेसोका सञ्चार अधिकृत दिव्यराज पौडेलले दिए । २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालमा रक्त सञ्चार सेवा एकाइको स्थापना गरी रक्त सञ्चार सेवा प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here