हजार दरका ३१ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं १४, असार । नेपाल राष्ट्र बैंकले ३१ करोड थान (वटा) हजार दरका नोट छाप्ने भएको छ । बजेटको आकार र मुलुकको आवश्यकतालाई मध्यनजर गरी यो वर्षका लागि हजार दरका ३१ करोड थान नोट छाप्ने निर्णय राष्ट्र बैंकले गरेको हो ।

यसकालागि राष्ट्र बैंकले गत बिहीबार नौ बोलकबोल (टेन्डर) आह्वान गरिसकेको छ । अन्तरराष्ट्रियस्तरमा आह्वान गरिएको बोलकबोलमा सबैभन्दा सस्तो दर कोट गर्ने कम्पनीलाई नोट छाप्न अनुमति दिइने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक प्रिन्टिङ कम्पनीले सूचना जारी भएको मितिले ४६ दिन (११ अगष्ट २०१९) भित्र सबै प्रक्रिया पुर्याएर आवेदन दिनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले छपाईका लागि बोलकबोल निकालेको नोटको रकम ३ खर्ब १० अर्ब रुपैयाँ बराबर हो । छपाई भएका सबै नोट पैसाको रुपमा हेरिदैन । ती नोट गोदाममै रहन्छन ।

तीमध्ये चलनचल्तिमा रहेका नोट मात्र रकमका आधार गणना गरिन्छ । राष्ट्र बैंकले औसतमा प्रतिनोट २ रुपैयाँका दरले नोट छपाईको खर्च तिर्दै आएको छ । सोही आधारमा ३१ करोड थान नोट छाप्न ६२ करोड रुपैयाँ लाग्छ । उता राष्ट्र बैंकले भने बोलकबोल प्राप्त नहुँदा सम्म खर्च बारे एकिन गर्न नसकिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट छपाउदै आएको छ । अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा नोट छपाई खर्च घटदै आएको छ ।

अझ यस अवधिमा भएको नेपाली रुपैंयाँको अवमूल्यन र मुद्रास्फीति समेतलाई मध्यनजर गरी हेर्दा पछिल्ला वर्षहरुमा लागत घटै गएको राष्ट्र बैंक्ले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here