एक लाख राशीको ‘शारदादेवी/ढुण्डीराज भट्टराई -नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

nafij

काठमाडौं, १ मंसिर । आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो ।

जसअनुसार नाफिजको हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी्ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ ।

भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।

पुरस्कारका लागि आवश्यक स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताइएको छ । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ ।

सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाई छनौट गरी पुरस्कृत गरिनेछ ।

आफ्ना बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम भट्टराईले बताए । ‘यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखनवृत्तीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु’, हस्ताक्षर कार्यक्रममा भट्टराईले भने ।

सो अवसरमा उनले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरुको संख्या र गुणस्तर दुबै बढाउनु पर्नेमा जोड दिए ।

नाफिज अध्यक्ष मोदनाथ ढकालले एक लाख राशीको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताए ।

‘यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो,उनले भने, यसले थप गतिशिल, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ। ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here