जनप्रतिनिधि यार्सा टिप्न गए, बजेट आएन

डोल्पा, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजनिक हुन सकेको छैन् ।

अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका छन् ।

जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजनिक हुन सकेको छैन् । जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत, लेखापाल सदरमुकाम बस्दा समस्या भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताए ।

पटक/पटक समयमै बजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्बा संकलनका लागि व्यवस्थापन राम्रो बनाइदिन आग्रह गरे पनि त्यो सुनुवाइ नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । पाँच स्थानीय तहले यार्सा संकलनलगायत विभिन्न कारण देखाइ बजेट सार्वजनिक गर्न नसकेको उनको भनाइ छ ।

आन्तरिक तयारी भए पनि बजेट सार्वजनिक हुन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । छार्काताङसोङ, डोल्पोबुद्ध, काइके र शे–फोक्सुण्डो गाउँपालिकाका तथा ठूलिभेरी नगरपालिकामा बजेट सार्वजनिक हुन सकेको छैन् । उपल्लो डोल्पामा बैंक नहुँदा अहिले लेखापाल र प्रशासकीय अधिकृत दुनैमा बसेर उपल्लो डोल्पाको विकास निर्माण भएको भन्दै भुक्तानी दिइरहेका छन् ।

जनप्रतिनिधि यार्सागुम्बा पाटनबाट फर्कने क्रम जारी रहेको छ । अधिकांश समय सदरमुकाम धाउनुपर्ने र माथिल्लो डोल्पामा जनता नै नभेटिने कारणले गर्दा समस्या भएको अध्यक्ष गुरुङले जानकारी दिए । यही असार २५ गतेसम्म बजेट सार्वजानिक गर्ने सम्भावना रहेको बताइएको छ ।

अहिले यार्सा सिजन केही समयपछि चीनमा व्यापार, चिसोमा तल्लो भेगमा झर्ने समस्याले गर्दा काम गर्न कठिनाई भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाको भनाइ छ । अब तीन दिनभित्र कामको भुक्तानी गर्नुपर्ने भएकाले अध्यक्ष लगायतको टोली दुनै आइपुग्ने पनि उनले बताए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here