मादीमा कृत्रिम ताल निर्माणको तयारी

काठमाडौं १४, असार । तनहुँको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माणका लागि व्यास नगरपालिकाले अध्ययन गर्ने भएको छ । केही महिना अगाडि काठमाडौँमा सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनमा पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत छनोट भएको ताल निर्माणका लागि नगरपालिकाले अध्ययन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।

काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि अध्ययन गर्न आर्थिक वर्ष ०७६÷७७ को बजेटमा ४० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाको धेरै वर्ष पहिलादेखि मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजना रहेकोले ताल निर्माणका लागि अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार ताल निर्माणका लागि चिनियाँ कम्पनीसँग एक चरणको छलफल भइसकेको छ ।

नगरपालिका–३ र ५ को बीच भागमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्नका लागि करीब ६ अर्ब लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, पाँच सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, ‘वाटर पार्क’, ‘मिनी गल्फकोर्स’ लगायतका संरचना निर्माण गर्ने लक्ष्य छ ।

परियोजना निर्माणले व्यासको जन्मभूमि दमौालीको विकासमा ठूलो टेवा पुग्ने नगरप्रमुख न्यौपानेले बताए । न्यौपानेले भने, ‘यो ठाउँ काठमाडौँ र पोखराको नजिक भएकोले पर्यटकलाई आकर्षित गराउन सहयोग पुग्नेछ ।’

व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण भइरहेको कृत्रिम ताललाई प्राथमिकतामा राख्दै व्यास नगरपालिकाले बजेट विनियोजन गरेको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको तालको लागि नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ को बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको हो । उक्त तालको गत पुस २० गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए ।

तीन सय मिटर लम्बाइ रहने तालको चौडाई २८ देखि ६८ मिटरको रहनेछ । तालको औसत गहिराई २.५ देखि ३ मिटरको रहने छ भने ‘कङ्क्रिट ग्राभिटी ड्याम’को संरचनामा ताल निर्माण हुनेछ । ८ मिटर बाँधको उचाई रहने तालमा बाँधको चौडाई ६.८५ (जगमा) देखि १.५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजारदेखि ३० हजार घनमिटरको रहनेछ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here