रंगिन ह्याट लगाइ रोपाईंमा बाबुराम, गोरु चलाउँदै भने-हो हो तारे हो हो !

गोरखा, १५ असार । आज, असार १५ अर्थात किसान हरुको पर्व । राष्ट्रिय धान दिवसको नामले पनि मनाइने यो दिनमा देशैभरी धान रोपाईं गरी, हिलो खेल्दै असारै गीत गाउँदै दहि चिउरा खाने गरिन्छ ।

सरकारले पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी धान दिवस मनाएको छ । कृषि मन्त्री चक्रपाणी खनाल सहितको टोलीले बर्दियामा धान दिवस मनाएको छ ।

कृषि प्रधान देश नेपालमा धानबालीको ठूलो महत्व रहेको छ । धान रोप्ने पर्वको यस दिनमा एक दिन भएपनि हिलो खेल्नुपर्ने मान्यता रहि आएको छ ।
यसैक्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर धान रोपाईंमा सहभागी भएका छन् ।

बाँसको चोयाबाट बनेको रंगिन छत्रेटोपी (ह्याट) लगाएर गोरखाको एक फाँटमा गोरु चलाउँदै गरेको तस्वीर उनको फेसबुकबाट सार्वजनिक भएको छ ।

‘हो हो तारे हो हो ! हो हो माले हो हो ! गोरखामा राष्ट्रिय धान दिवस’ क्याप्सन दिएर उनले गोरु चलाउँदै गरेको देखि बाउसे गरेको र धान रोपेको तस्वीरहरु सार्वजनिक गरेका छन् ।

फेसबुकमा उनले गोरखाको कुन फाँटमा हो भनेर उल्लेख नगरे पनि आफूलाई बेलाबेलामा किसानको छोरा भनेर चिनाउने उनले आफूले गोरु राम्रैँसँग चलाउन जानेको चैं देखाएका छन् । उनी एक्लैले गोरु लगाइरहेका छन् ।

तस्वीर स्राेत: डा. भट्टराईकाे फेसबुक पेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here