‘नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, सीडी रेसियोले तरलता अभाव भएको होइन’

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी हटाएकोले तरलताको अभाव भएको भन्ने तर्क गलत भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममामा गभर्नर अधिकारीले सीडीको बारेमा गलत तर्क गर्न नहुने बताए ।

तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए ।

अहिले कार्यान्वयनमा ल्याइएको सीडी रेसियो सम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज सस्तो लागेपनि अधिकांश प्रणालीलाई राम्रो भएको गभर्नर अधिकारीको भनाई छ ।

‘हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौं, यसलाई सबैले बुझ्न आवश्यक छ, सीडी रेसियोले केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ,’ उनले भने ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लागि सीसीडी सम्बन्धी व्यवस्था खारेज गरेर सीडी सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको थियो ।

यसअघिसम्म राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई ८० प्रतिशतसम्म सीसीडी (कर्जा-पुँजी-निक्षेप) अनुपात राख्न दिएको दिएको थियो भने चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ९० प्रतिशतसम्म सीडी (कर्जा-निक्षेप) अनुपात कायम गर्न भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here