काठमाडौं, ११ मंसिर । शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४७ लाख नजिक पुगेको छ ।
सीडीएससीको तथ्यांक अनुसार शुक्रवारसम्म डिम्याट खाताको संख्या ४६ लाख ८६ हजार ६ सय ७२ पुगेको छ।
शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बन्दै गएको छ ।
आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए । चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ थियो। ७ महिनामै डिम्याट खाता खोल्नेको संख्या थप १४ लाखले वृद्धि भएको छ ।
सीडीएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३८ लाख ५२१ पुगेको छ। हालसम्म ७ अर्ब ८३ करोड ८० लाख ८१ हजार २९७ कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।
पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।
नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।
१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।
डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।
साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ