चाँदी आयातमा कडाइ, डीएपी र डीएएको सीमा ५० हजार डलर

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत गरेको घोषणालाई कार्यान्वयन गर्न ब्याख्यासहित निर्देशन जारी गर्दै चाँदी आयातमा कडाइ गरेको हो ।

अब चाँदी आयातको लागि एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको सीमासम्ममा मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले भनेको छ, ‘चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।’

सुनचाँदीको कारोबार तथा आयात निर्यात गर्न विधिवत् दर्ता भएका र इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजारबाट आयात इजाजत व्यवस्थाअनुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट मात्रै आयात गर्न सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगहना बनाई विक्री गर्न, हस्तकलालगायत सामान बनाई विक्री गर्न वा त्यस्तो कार्य गर्ने व्यवसायीलाई विक्री गर्न र निर्यात गर्ने प्रयोजनका लागि मात्रै प्रयोग गर्न सकिनेछ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै वाणिज्य बैंकले साना सुनचाँदी व्यवसायीलाई मात्र विक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजतको व्यवस्थानुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्था अनुसरण गरेर मात्रै चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको मौद्रिक समीक्षालाई कार्यान्वयन गर्न जारी गरिएको निर्देशनले डकुमेन्ट अगनेस्ट पेमेन्ट (डीएपी)को अधिकतम सीमा र डकुमेन्ट अगनेस्ट एसेप्टेन्स (डीएए)को अधिकतम सीमालाई ५० हजार डलर कायम गरेको छ ।

यसअघि १ लाख डलरसम्मको व्यवस्था थियो । डीएपी तथा डीएएको नयाँ व्यवस्थाअनुसार अब एक पटकमा अमेरिकी डलर ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्रै आयातित मालसामानको भुक्तानी गर्न पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here