भावी सन्ततीलाई पनि यस्तै गरीब र बेरोजगार बनाउने होइनः प्रधानमन्त्री ओली

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गरेका छन् । ‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो’ प्रधानमन्त्री ओलीले भने ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’

प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने बताएका छन् । ‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थितीमा राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन’ प्रधानमन्त्री ओलीले भने ‘मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु ।’

प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए ।

नेपाल काम गर्न चाहने कर्मवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।’

कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताए । ‘हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here