मुलुकमा १० खर्ब ६० अर्ब विदेशी मुद्रा सञ्चिति, आठ महिनाको आयात धान्न पुग्ने

काठमाडौं १६, असार । चालू आर्थिक वर्षको वैशाखसम्म राज्य कोषमा १० खर्ब ६० अर्ब रुपैयाँ विदेशी मद्रा सञ्चिति छ । गत असारको तुलनामा यो करिब ४२ अर्ब रुपैयाँले कम हो । ०७५ असारमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको १० महिनाको आयातलाई आधार मान्दा मुलुकमा रहेको विदेशी निनिमय सञ्चितिले ९.१ महिना वस्तु आयात गर्न र ८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

गत वैशाखसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ४२ करोड छ । ०७५ असारमा यो १० अर्ब ८ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ९ खर्ब १५ अर्ब ३९ करोड थियो । गत असारमा यो ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ छ । ०७६ वैशाखमा यो १ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत वैशाखसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ ।

चालू आर्थिक वर्षको १० महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३०.६ प्रतिशत छ । यस्तै, कुल आयातसँग ६६.६ र विस्तृत मुद्राप्रदायसँग ३१.१ प्रतिशत रहेको छ । ०७५ असारमा यी अनुपात क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here