साझाले थप्यो २० नयाँ बस, स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने, लामो दुरीमा नाइट चलाउने

-जितेन्द्र खनाल

काठमाडौं, १६ असार । साझा बसले ‘यूरो ४’ मापदण्डका २० वटा नयाँ बसहरु सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकामा हाल साझा बस गुडीरहेका रुटहरुका साथै नयाँ रुटमा समेत सेवा दिने उद्देश्यले साझाले नयाँ बसहरु थपेको हो ।

थपिएका नयाँ शहरी बसको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणी दिक्षितलेले संयुक्त रुपमा उद्घाटन गरे ।

२० नयाँ बस खरीदका लागि साझालाई काठमाडौं महानगरले ५ करोड र ललितपुर महानगरले १ करोड रुपैयाँ अनुदान सहयोग गरेका थिए ।

सरकारको मापदण्डमा ‘यूरो ३’ को बसहरु भएपनि साझा यातायातले कम प्रदुषण गर्ने ‘यूरो ४’ को बसहरु सञ्चालनमा ल्याएको साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणी दिक्षितले बताए ।

‘सरकारको मापदण्ड ‘यूरो ३’ रहेकोमा हामीले वातारण मैत्री ‘यूरो ४’ बस सञ्चालन गर्यौं यसले वातावरणको संरक्षणका साथसाथै स्मार्ट सिटी निमार्णमा समेत सहयोग गर्ने आशा लिएको छु’ दीक्षितले भने ।

स्मार्ट कार्डबाटै भाडा

सोमबारबाट सञ्चालनमा आएका ‘यूरो ४’ मापदण्डका यी सहरी बसहरुमा विभिन्न प्रकारका सुविधाहरु रहेका छन् ।

नेपालमा पहिलो पटक स्मार्ट कार्डबाट भाडा तिर्न सकिने प्रविधि नयाँ बसहरुमा जडान गरेको साझाले जानकारी दिएको छ ।

साझा यातायातमा यात्रा गर्ने यात्रुहरुले सहचालकको सहयोगमा दुई सय रुपैयाँको व्यालेन्स भएको स्मार्ट कार्ड किन्न सक्ने दिक्षितले बताए ।

‘स्मार्ट कार्ड २ सय रुपैयाँको ब्यालेन्स हुन्छ,’ उनले भने, ‘सहचालकको सहयोगमा यात्रुहरुले उक्त कार्ड लिएर आफ्नो भाडा तिर्न सक्नेछन् ।’
कार्ड मेसिनमा राखेपछि जति हो त्यति मात्रै रकम काट्ने गर्दछ ।

साझाका नयाँ बसमा इन्टरनेटको सुविधा पनि रहेको छ । यौन हिंसा भएको अवस्थामा कुन नम्बरहरुमा फोन गर्ने भन्ने जस्ता सूचनाहरु राखिएको बसमा डस्टबिनको पनि व्यवस्था रहेको छ ।

कुनकुन रुटमा चल्नेछन् नयाँ बस?

यी बस थपिएपछि साझाले हाल सञ्चालनमा रहेका रुटका साथै नयाँ रुटहरु गरी उपत्यकाका विभिन्न १० रुटहरुमा सेवा प्रदान गर्नेछ । त्यस्तै साझाले काठमाडौँ उपत्यका बाहिर पनि सेवा विस्तार गर्ने जानकारी दिएको छ ।

काठमाडौँबाट पोखरा हुदै बागलुङ र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुदै बेलहिया नाकासम्म नाइट बस चलाउने साझाले बताएको छ ।

साझाको पुरानो रुटका साथै नयाँ चार रूटहरू लगनखेलबाट सातदोबाटो हुदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक, लगनखेलबाट शहीदगेट हुदै दक्षिणकाली र बुङमतीबाट बुढानीलकण्ठ, सम्म साझाका नयाँ बस गुड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here