लगानीयोग्य रकमको अभावका बीच एक सातामा बैंकिङ प्रणालीबाट ५ अर्ब बाहिरियो

काठमाडौं, २८ मंसिर । वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ ।

जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ । अहिले बैंकिङ प्रणालीमा तरलताको अभाव हुँदा बैंकहरु लगानी नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन पुन: घटेको छ । बैंकहरूको कर्जा लगानी भने बढेको छ ।

पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएता पनि बैकहरुले कर्जा लगानी बढाएका छन् ।

तरलता अभावका कारण सिडी रेसियो ९१.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशत पुर्याउनु पर्नेमा अहिले नै ९० प्रतिशत भन्दा बढी रहेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो साताको तुलनामा ५ अर्बले घटेको हो । मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । बैंकहरुको कर्जा लगानी ८ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here