‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन, खपत गर्ने नीति लिनुपर्छ’- अर्थमन्त्री शर्मा

काठमाडौं, २९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले विद्युत् बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत् बिक्री गरेर व्यापार घाटा कम नहुने बताएका हुन् ।

उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए ।

अहिले विद्युत् बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउँदै विद्युत् बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताए । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत् उपलब्ध गराएर खपत बढाउनुपर्ने बताए ।

‘विद्युत् उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर विद्युत् खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’

नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिने समेत उल्लेख गरे ।

उनले कुन उद्योगलाई कहाँ कति विद्युत् उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत् उपलब्ध गराउनुपर्ने बताए । विशेष गरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत् सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । यसले मुलुकलाई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

यस्तै निजी क्षेत्रले मुलुकको गृहस्थ उत्पादनमा ठुलो योगदान गरिरहेको स्मरण गर्नुहुँदै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here