दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २९ प्रतिशत महँगियो

काठमाडौं, २९ मंसिर । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को चार महिनाको तथ्यांक अनुसार २०७८ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको छ ।

२०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ ।
त्यस्तै, २०७८ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.०३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ०.८५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.७७ प्रतिशतले बढेको छ ।

२०७८ कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ५.३२ प्रतिशत र सन् २०२१ नोभेम्बरमा भारतमा ४.९१ प्रतिशत रहेको छ ।

यसैगरी यस अवधिमा आयात ६१.६ प्रतिशतले र निर्यात १०४ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ । शोधनान्तरण स्थिति १५० अर्ब ३८ करोडले घाटामा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको खर्च रु.२८७ अर्ब ५४ करोड र राजस्व परिचालन रु.३३४ अर्ब३१ करोड छ । विस्तृत मुद्राप्रदाय १.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ९.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३१.२ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here