विद्युतीय बस किन्न प्रदेश ३ को ३० करोड लगानी, मुख्यमन्त्रीले भने–जनतालाई सुविधा दिनुपर्छ

काठमाडौं, १६ असार । विद्युतीय बस खरीदको लागि प्रदेश नम्बर ३ ले साझा यातायातलाई ३० करोड दिएको छ ।

प्रदेश नम्बर ३ ले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको बताउँदै साझालाई उक्त रकम दिएको हो ।

त्यस्तै काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले दुई करोड ५० लाख रुपैयाँ दिएका छन् । सबैले साझा यातायातमा उक्त रकम बराबरको सेयर किनेका हुन् ।

सेयर बेचेर प्राप्त हुने ४२ करोड ५० लाखमा साझाले २ करोड ५० लाख थप गरी ४५ करोडको विद्युतीय बसहरु किन्ने छ ।

जनतालाई सुविधा दिनुपर्छः मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले साझालाई रकम हस्तान्तरण गर्दै जनतालाई सरल, सस्तो र सुविधा प्रदान गर्नको लागि विद्युतिय बसलाई प्राथमिकतामा राखेको बताए ।

साझा यातायात हाल घाटामा रहेको छ । घाटामा भएको संस्थालाई प्रदेश सरकारले ठूलो लगानी गरेको भन्दै धेरैले विरोध गर्दागर्दै पनि जनताको सुविधाको लागि प्रदेश सरकारले लगानी गरेको मुख्यमन्त्री पौडेलले स्पष्ट पारे ।

‘मलाई थाहा छ व्यापारको नियम अनुसार जहाँ लगानी गरेको छ त्यहाँ फाइदा हुनुपर्छ तर, सेवामा नाफा घाटाको कुरा हुँदैन् यो विद्युतिय बस पनि एक प्रकारको सेवा नै हो त्यसकारण जनताले सुख पाँउछन् भने हामी घाटा खाएर पनि खुसी हुन्छौं’ मुख्यमन्त्री पौडेलले भने ।

साझा यातायात सबैभन्दा पुरानो र विश्वासीलो संस्था भएको कारण पनि सहकार्यको लागि साझा यातायातलाई नै रोजेको उनको भनाई छ ।

मुख्यमन्त्री पौडेलले सरकारी लगानी भएका संस्थाहरु निजी भन्दा कमजोर देखिएको प्रसंग प्रस्तुत गर्दै अब यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

विद्युतीय गाडी किन्ने सबै व्यक्ति तथा संस्थाहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

अबको प्रमुख एजेन्डा नै विद्युतीय गाडी रहेको उनको भनाई थियो ।

सरकारी लगानी भएका संस्था बलियो हुनुपर्छ

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यो कामले अत्यन्त खुसी बनाएको बताए ।

‘यो कामले अत्यन्त खुसी भएको छु,’ उनले भने ‘डिजेलयुक्त गाडीलाई विस्थापन गर्न यसले सहयोग गर्छ ।’

साझा यातायातको सेवालाई देशभर परिचालन गर्नुपर्ने पनि उनले बताए । सरकारी लगानी भएका सबै संस्थाहरु बलियो हुनुपर्ने उनको धारणा थियो ।

‘अहिलेसम्मको स्थितीमा निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्र कमजोर छ’ उनले भने ‘अब यो कार्य रोकिने छ र यसको सुरुवात आजको दिनबाट भएको छ ।’

विद्युतिय गाडीको फाइदै फाइदा

विद्युतीय बस किन्न सरकारले साझा यातायातलाई रोजेकोमा उत्साहित भएको साझा यातायात सहकारीका प्रमुख कनकमणि दिक्षितले बताए ।

दिक्षितले सोमबार साझा यातायातले उद्घाटन गरेका बस डिजेल प्रयोग हुने अन्तिम बस भएको हेर्न चाहेको बताए ।

‘साझा यातायातले सोमबार सार्वजनीक गरेको बस अन्तिम साझा बस भएको हर्न चाहन्छु,’ उनले भन,े ‘अब सबै सरकारी प्रयोजनका गाडीहरु पनि विद्युतिय हुनुपर्दछ ।’

विद्युतीय गाडीहरुमा खर्च कम हुने भएको कारण यसको सबैभन्दा ठुलो फाईदा जनतालाई उनले बताए ।

‘यस्ता बसहरु बनाउनको लागि पनि थोरै खर्च लाग्ने र डिजेलको तुलनामा विद्युतमा रकम पनि कम हुन्छ,’ उनले भने, ‘त्यसकारण डिजेलयुक्त गाडीमा भन्दा विद्युतीय गाडीमा भाडा पनि कम लाग्छ ।’

विद्युत प्राधिकरणको सहयाेग

विद्युतिय गाडी सञ्चालनको लागि नेपाल विद्युत प्राधिकरणले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमा घिसिङले विद्युतीय गाडी किन्ने साझाको निर्णय स्वागतयोग्य भन्दै पुर्ण रुपमा सहयोग गर्ने बताए ।

नेपालको सबै क्षेत्रमा विद्युतिय सवारी सञ्चालनमा ल्याउन सके हाल पेट्रोल, डिजेलको खरीदमा खर्च भईरहेको खर्बो रकम जोगिने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here