रक्सीदेखि गाडी आयातसम्म राष्ट्र बैंकको कडाई

काठमाडौं,५ पुस । नेपाल राष्ट्र बैंकले अनियन्त्रित बन्दै गएको आयात नियन्त्रण गर्न कडा नियम कार्यान्वयनमा ल्याएको छ ।

सोमबार वाणिज्य र विकास बैंकहरुलाई परिपत्र गर्दै नेपाल राष्ट्र बैंकले प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो ।

अब डेढ दर्जन प्रकारका वस्तुको आयातमा यस्तो नियम लागु हुने भएको छ । यी वस्तुको आयात गर्न प्रतीतपत्र खोल्नुअघि बैंकले आयातकर्ता कम्पनीबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने भएको हो । । दुई प्रकारका वस्तु आयातमा ५० प्रतिशत नगद जममा गराएपछि मात्रै प्रतीतपत्र खोल्न सकिने छ ।

आयात कडाइ गर्न खोजिएको मुख्य वस्तुहरुमा निजी कार (सार्वजनिक, अपांगमैत्री र विद्युतीयबाहेक) र मोटरसाइकलमा ५० प्रतिशत र सुर्ति, काठ, फर्निचर, चकलेट, चुइगम, तास, फुटवेयर, प्लाइउड, चाँदी, रक्सीलगायत वस्तुहरुमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ ।

ती वस्तु आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत राष्ट्र बैंकले सोमबार आयातमा कडाइ गर्ने नीति ल्याएको हो ।

आयात आकासिएसँगै बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी विनिमय सञ्चितिमा सुधार ल्याउने उद्देश्यले उक्त नीति जारी भएको राष्ट्र बैंकले जनाएको छ । उल्लिखित वस्तुहरु विलासिता र कम आवश्यकताका रहेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत केही वस्तुहरु आयातका लागि खोलिने एलसीमा मार्जिन तोक्ने घोषणा गरेको थियो । अहिले त्यही व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वस्तुको आयातको लागि प्रतीतपत्र खोल्दा तोकिएअनुसारको नगद मार्जिन लिनुपर्ने हुन्छ । यसअघि आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य गरिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here