जनमैत्री क्याम्पस चलाउन काठमाडौं महानगरलाई प्रस्ताव, छलफल गर्छौं: मेयर शाक्य

काठमाडौं ७ पुस । काठमाडौंको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले सहकार्यका लागि काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ ।

क्याम्पसको ३१ औं वार्षिकोत्वसको अवसरमा बुधबार भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले महानगरले क्याम्पस चलाउन तयार भए आफूहरू तयार रहेको बताएका हुन् ।

उनले भने,’काठमाडौं महानगरपालिकाले कलेज चलाउन चाहन्छ भने भक्तपुर नगरपालिकाले ख्वप कलेज चलाएजस्तै काठमाडौं महानगरपालिका र यस जनमैत्री बुहमुखी क्याम्पसबीच समन्वयकारी भूमिका निर्वाह गरेर क्याम्पस सञ्चालन गर्न राम्रै हुन्थ्यो होला भनेर २ वर्ष पहिले प्रस्ताव गरेका थियौं र आजपनि यो प्रस्ताव हाम्रो यथावत छ ।’

२०७६ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत(क्यूएए) जनमैत्री बहुमखी क्याम्पसमा अहिले १६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

जनमैत्री बुहमुखी क्याम्पस क्युएए प्राप्त काठमाडौंको पहिलो क्याम्पस हो । वार्षिकोत्सव कार्यक्रम कार्यक्रममा सहभागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्याम्पसको प्रस्तावबारे आफूले छलफल गर्ने आश्वासन दिए ।

शिक्षा क्षेत्रमा ठूलो रकम छुट्टाएर भौतिक पूर्वाधारको क्षेत्रमा राम्रो गरेपनि त्यो भन्दा माथि आफूहरू जान नसकेको बताए ।

उनले भने,’ यस प्रस्तावबारे म छलफल गर्छु तर काम गर्न सहज भने छैन, नगर्दा किन गरेन भन्ने हुन्छ गर्दा मेरो कलेज किन नगरेको अर्को किन गरेको भनेर प्रश्न उठाएर खेद्न सुरु गर्छन् ।’

महानगरले कलेज सञ्चालनबारे कसरी व्यवस्थापन गर्न सकिन्छ कार्यपालिकामा छलफल गर्ने मेयर शाक्यले बताए । उनले भने,’कसरी व्यवस्थापन गर्न सकिन्छ हामी छलफल गर्ने तयार छौं ।’

क्याम्पसले विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा आफ्नो वार्षिकोत्सव मनाएको हो । कार्यक्रम अन्तर्गत, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, टेबलटेनिस, भलिबल, उपत्यका व्यापी क्विज, फुडफेष्टिबल लगायतका प्रतियोगिता भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here