तरकारी र फलफूलमा भएका विषादीको असर कसरी कम गर्ने ?

काठमाडौं । देशमा उत्पादन हुने तथा विदेशबाट आयात हुने तरकारी र फलफूल विषादी रहित छैन् ।

आफ्नै करेसाबारीमा लगाइएको तरकारीमा हामीले विषादीको प्रयोग गर्ने गर्दैनौं तर, बजारमा किनिने तरकारीमा विषादीको मात्रा अत्यधिक हुने गर्छन् ।

भान्छामा लैजाने तरकारी, फलफूल र खाद्यान्नबाट हामीले घरभित्र विषादी लगिरहेका छौँ ।

बोट बिरुवामा रोग किरा लागेको अवस्थामा हामीले त्यसलाई मार्नका लागि विषादीको प्रयोग गर्छौ । किसानका लागि अन्य विकल्प नहुँदा उनीहरूले विषादीको प्रयोग गरिरहेका छन् ।

त्यसैले हामीले तरकारी र फलफूल खानभन्दा पहिले त्यसमा भएका विषादिको मात्रा कसरी कम गर्न सकिन्छ भनेर जानी राख्नुपर्छ ।

तरकारीमा विषादीको प्रयोग किन गरिन्छ ?

हामी स्वस्थ रहनको लागि फलफूल र हरियो सागसब्जीहरु धेरै मात्रामा खानुपर्छ भन्छौं तर, यी आजभोली दुवै चीजमा अत्यधिक मात्रामा विषादी हालिएको हुन्छ ।

उब्जनी बढाउनका लागि विषादी प्रयोग गर्नु आवश्यक हुन्छ । हामीले मात्र होइन जापान, कोरिया लगायतका एसियाका विकसित देशले धेरै नै विषादी प्रयोग गर्छन् ।

तथ्यांक अनुसार नेपालले प्रति हेक्टर १ सय ४२ ग्राम विषादी प्रयोग गर्दा जापानमा १० किलो र कोरियामा २० किलो प्रयोग भएको छ । त्यसैले नेपाल कम विषादी प्रयोग गर्ने मुलुकमा पर्छ ।

तरकारी उत्पादनको क्रममा नै धेरै उत्पादन होस, फलफूल ठूलो होस् भनेर विभिन्न खालका रसायनीक मलको साथमा विभिन्न प्रकारका औषधिहरु प्रयोग गरिन्छ जसको मात्रा उत्पादन भइसकेका तरकारी वा फलफूलमा जम्मा हुन्छन् ।

तरकारी तथा फलफूल लामो समयसम्म ताजा देखियोस भनेर पनि विभिन्न प्रकारका विषादी प्रयोग गरिन्छ त्यसैले तरकारी वा फलफूल पकाउन वा काँचै खानुअघि राम्रोसँग पखालेर खानुपर्छ ।

चिकित्सकहरुका अनुसार तरकारीबाट विषादी पूर्णतया हटाउने कुनै उपाय छैन तर, तरकारी पकाउने बेलामा अलि विशेष तरीकाले सफा गरेर विषादीको मात्रा कम भने गर्न सकिन्छ ।

खाद्यपदार्थमा अत्यधिक विषादिको प्रयोगले हाम्रो स्वास्थ्यमा गम्भिर असर गरीरहेको हुन्छ । यस्ता विषादियुक्त तरकारी वा फलफूलको सेवनले साना बच्चा, गर्भवती महिला, बिरामीहरुलाई धेरै असर गर्छ ।

थोरै थोरै मात्रामा विषादीजन्य खानेकुरा खाँदा हामीलाई एकैचोटी असर नगरेपनि ती विषादी हाम्रो शरीरमा जम्मा हुँदै जान्छ र त्यसले पछि समस्या निम्त्याउन सक्छ । त्यसैले सकेसम्म अर्गानिक तरकारी वा फलफूल खानुपर्छ ।

तरकारी पकाउँदा पनि विशेष ध्यान दिनुपर्छ । सफा पानीमा राम्रोसँग पखाल्नाले तरकारीको बाहिरी सतहमा भएका विषादि, किटाणु र धुलो मैलो हटाउन सकिन्छ । कुनै बाल्टिमा राखेर चोबल्नुभन्दा सफा पानीको धारामा तरकारी पखाल्नु राम्रो हुन्छ ।

तरकारीहरु उत्पादन भएर हाम्रो भान्छामा नपुगुन्जेल त्यसमा फोहोर, किटाणु र विषादिहरु मिसिएका हुन्छन् । त्यसैले हामीले पकाउने बेलामा राम्रोसँग केलाएर, धोइपखाली गरेर पकाउनुपर्छ ।

बजारीया तरकारी वा फलफूल खानुभन्दा अगाडि त्यसलाई राम्रोसँग पखाल्ने तरीका सिक्नुपर्छ ।

तरकारी वा फलफूलमा भएका विषादी कम गर्न कुन तरकारी कसरी पखाल्ने भनेर थाहा पाइराखौं

१. कुनै तरकारी वा फलफूलको बोक्रा खाँइदैन भनेपनि त्यसलाई राम्रोसँग पखाल्नुहोस् त्यसपछि मात्रै ताछेर खानुहोस् ।

२. बजारबाट ताजा फलफूल वा तरकारी ल्याएपछि त्यसलाई केलाउन धोइपखाली गर्नुअघि आफ्नो हात पनि साबुन पानीले राम्रोसँग धुनुहोस् किनभने तपाईंको हातमा पनि धेरै किटाणुहरु हुन सक्छन् ।

३. तरकारी पखाल्दा सफा पानीको धारामा पखाल्नुहोस् । यसो गर्दा बाल्टी वा कुनै गहिरो भाँडामा पानी राखेर चोबल्दै पखालेको भन्दा राम्रोसँग विषादि जान्छ ।

४. फलफूल र तरकारीहरु पखाल्न साबुन, डिटर्जेन्ट र अन्य खालका चीजहरुको प्रयोग गर्नुहुन्न । सफा पानीले मात्रै पखाल्ने गर्नुहोस् ।

५. आलु, लौका, जस्ता तरकारी पखाल्दा सफा ब्रसले कोतर्नुहोस् । त्यस्तै स्याउ, तरबुजा जस्ता फलफूललाई पनि ब्रसले कोतर्नुहोस् यसले विषादी कम गर्न मद्दत गर्छ ।

६. त्यस्तै नरम खालका तरकारी र फलफूललाई अलि मज्जाले मिचेर पखाल्नुहोस् ।

७. बन्दा, काउलीको बाहिरी पत्र नपकाउनुहोस् ।

८. बोक्रा ताछ्न मिल्ने तरकारीहरु सँधै ताछेर मात्रै पकाउने गर्नुहोस् । जस्तै आलू, मुला, लौका, घिरौंला आदी । फलफूलहरु पनि बोक्रा ताछेर खाने गर्नुहोस् ।

९. तरकारीलाई मनतातो पानीमा डुबाएर पखाल्ने वा उमालेर पनि पनि विषादी कम गर्न सकिन्छ तर, उमाल्दा पोषक तत्वहरु कम हुन सक्छ ।

(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here