काठमाडौं १२ पुस । पछिल्लो समय पार्टी आकर्षणको केन्द्र बनेको छ । कोभिडका कारण बन्द भएको पार्टी बस पुन सञ्चालनमा आएसँगै आकर्षण बनेको हो ।
भिजिट नेपाल २०२० लाई लक्षित गर्दै रेस नेपाल प्रालिले सञ्चालनमा ल्याएपनि कोरोना तथा लकडाउनले बन्द थियो ।
महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि जोखिम कम हुन थालेसँगै माग ह्वात्तै बढेको बसका सर्भिस इन्चार्ज विनोद खड्काले बताए ।
पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने बताइएको छ ।
बसभित्रै डिजे, बार, धूम्रपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय लगायतको व्यवस्था छ । जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्टी , भिजा पार्टी लगायत निजी बुकिङ गरि व्यतिगत पार्टी बनाउन सकिन्छ ।
यो बस अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुन सक्छ ।
दैनिक बेलुका ८ बजे पछि रिङ्ग रोड र काठमाडौको भित्री भागमा हप अन राईड अर्थात लोकल मानिस पनि रमाईलो गर्नका लागी बस चढ्ने र पार्टी सकिए पछि झर्ने मिल्ने ब्यवस्था समेत पार्टी बस नेपालले गरेको छ । यसले गर्दा लोकल मानिसहरु समेत यसमा आकर्षित हुने इन्चार्स खड्काले बताए ।
प्राय रिङ्ग रोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसहरुले कल गरेर बस बुकिङ गर्न सकिन्छ । प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने हप अन राईडको लागि रातको ८ बजे पछि पार्टी बसले चोक चोकमा पुगेर माग अनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोहि ठाउँमा ल्याएर यात्रुहरुलाई झारिदिन्छ ।
यसको अझ रमाईलो कुरा त के छ भने रेस्टुरेन्टहरु निश्चित समय सम्ममात्र खोल्ने भएकोले रेष्टुरेन्टहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर समेत मनोरन्जन दिने गरेका छन् ।
अहिले नयाँ पुस्ताहरुका लागि गुडिरहेको बसमा आफ्नो इच्छा अनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समूह बनाएर मनोरञ्जन लिनु पनि एउटा नयाँ र मिठो अनुभव हुन सक्छ ।
यसरी गरियो पार्टी बसको परिकल्पना
डेनमार्क निवासी असोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवर्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार गरेका थिए ।
त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस सुरु गरेका थिए ।
अहिले यसले विस्तारै आफ्नो व्यवसायलाई फराकिलो बनाउने योजना बनाउँदै छ । पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बसहरु समेत आउँदैछ । साथै छुट्टै भ्यानहरु समेत ल्याउन लागिएको उनले जानकारी दिए ।
हाल पार्टी नेपालको दुई बस सञ्चालनमा छन् । विशेषत कलंकी, ललितपुर, भक्तपुर, बुढानिलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ ।
यसको माग बढ्दो क्रममा रहनुका साथै आफुले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोहि ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घर नजिकै झर्नेहरुको संख्या बढ्दो छ ।
पार्टी नेपाल बसमा हालसम्म हेलोईन पार्टी, न्यु एयर पार्टी, क्रिसमस पार्टी, निवन लाईट थिम पार्टीलगायत बर्थडे पार्टी, एनीभर्सरी, ब्याचुलर पार्टी, भीजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ ।
पछिल्लो समय कलाकार बोलाएर लोक, पप साँझहरु भएको र पछिल्लो समय यसको क्रेज बढेको साथै उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा बढि माग बढेको रेस नेपालले जनाएको छ ।
यसमा गैरआवासीय नेपाली, उद्यमी र पर्यटन उद्योगका अनुभवी व्यक्तिको लगानी रहेको छ । त्यसो त कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ भने फोन गरेर पार्टी बस बुकिङ गर्न सकिने छ ।