‘पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आएको छ’- अध्यक्ष गोल्छा

काठमाडौं, १३ पुस । नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार महासंघ सचिवालयमा एक स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल,नेपाल कोरोगेटेड बक्स उत्पादक संघ,नेपाल कुुरियर सेवा संघ,फुटवेयर म्यानुफ्याक्चर्र्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेशीनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीबुटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले खादा लगाई नवनिर्वाचित पदाधिकारीहरूको स्वागत सहित बधाई दिए । अध्यक्ष गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुपर्ने बेला आएको बताउंदै सदस्य वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशिल हुन आग्रह गरे । अध्यक्ष गोल्छाले नेट २०३० ले लिएका लक्ष्यहरू पूरा गर्न महासंघले आफना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास प्रकट गरे ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिए । सो अवसरमा उहांहरूले वस्तुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या संवोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

नव निर्वाचित अध्यक्षहरूले राखेका गुनासा एवं समस्याहरूको बुँदागत रुपमा संवोधन गर्दै महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाए ।

नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको, कोरोगेटेड उद्योगको कच्चा पदार्थ पूराना कागज निर्यात रोक्नुपर्ने, वहुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलव ज्याला सामान हुंदा समस्या भएको गुनासो गरे ।

नेपाल कुुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तराष्ट्रिय विमानस्थल र वस पार्कहरूमा छुट्टै कुरियर टर्मिनलको माग गरे । अध्यक्ष खड्काले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुनुपर्ने र कुरियरमा भ्याट हटाउनु पर्ने सुझाव राखे ।