घरको रेलिङमा कपडा सुकाए र बाल्कोनीमा बसेर चुरोट खाए जरिवाना !

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भन्ने बित्तिकै सबैलाई सुविधा सम्पन्न भएको ठाँउ लाग्न सक्छ । तर न्यूनतम सुविधा पनि उपलब्ध नहुन सक्छ ।

त्यहाँको दुबइ नगरपालिकाले घरबेटी र डेरावाललाई नयाँ नियम ल्याएको छ ।

नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि नयाँ नियम लागू गरेको जनाएको छ । जुन नियम अनुसार दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ ।

जसअनुसार बाल्कोनी वा झ्यालमा कपडा सुकाउनु, चुरोटको ठुटो वा खरानी बाल्कोनीबाट तल खसाल्नु, बाल्कोनीबाट तल फोहर फ्याँक्नु, बाल्कोनी पखाल्दा पानी तल खस्नु वा एसीको पानी तल खस्नु, बाल्कोनीमा चरालाई चारो खुवाउनु पनि गैरकानुनी हुनेछ ।

चराले बाल्कोनी फोहर पार्छन् र बाल्कोनीमा स्याटेलाइट डिश वा कुनै पनि किसिमको उन्टेना जडान गर्दा पनि जरिवाना लाग्नेछ ।

यदि कसैले नगरपालिकाको नयाँ नियमको उल्लंघन गरेमा ५०० देखि १५०० दिराम (१६ हजारदेखि ४८ हजार रुपैयाँसम्म) जरिवाना तिर्नुपर्नेछ । २०१८ मा खाडी देश कुवेतले पनि आफ्ना नागरिकहरुको लागि यस्तै नियम बनाएको थियो ।

दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ ।