सरकारले तोक्यो उखुको समर्थन मूल्य, गत वर्षभन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढ्यो

काठमाडौं, २१ पुस । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको हो ।

कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।

तोकिएको समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ ।

गत वर्षभन्दा सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढाएको छ । किसानले ६५० रुपैयाँ तोकिनुपर्ने माग गर्दै आएका थिए ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/७७ का लागि ५३६ रुपैयाँ ५६ पैसा तथा आर्थिक वर्ष २०७५/७६ को लागि पनि त्यति नै मूल्य कायम गरिएको थियो ।

बिहीबारको सार्वजनिक लेखा समितिले सरकारलाई उखुको भुक्तानी चाँडो दिलाउन र समर्थन मूल्य चाँडो तोक्न समेत निर्देशन दिएको थियो ।

चिनिमिलहरुले किसानलाई अझै करिब पौने ९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here