आयल निगमले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधि जडान गरिएको पहिलो पम्प

नेपालगञ्ज, २२ पुस । नेपाल आयल निगमले नेपालगञ्जमा नमूना पेट्रोल पम्प संचालनमा ल्याएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित आदर्शनगरमा सञ्चालनमा ल्याएको लुककै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प बुधबार नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरे ।

तीन करोड ६७ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पम्प निगमको नेपालगञ्ज डिपो मातहतमा सञ्चालन भएको हो ।

पम्पमा १ लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ । २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् ।

निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गर्दै आएकोमा निगमले नमूनाको रुपमा नयाँ पम्प सञ्चालनमा ल्याएको हो । यो पम्प पूर्ण स्वचालित रहेको छ।

निगमले पम्प परिसरमै सानो कार्यालय राखेको छ । त्यहीँ कम्प्युटर राखेर अटोमेसन प्रविधिको नियमन सुरु गरिएको छ ।

पम्पमा डिजेल बिक्रीका लागि २ र पेट्रोल बिक्रीका लागि तीनवटा डिस्पेन्सिङ मेसिन छन् । निगमले यसअघि भैरहवामा आफ्नै स्वामित्वमा पहिलो पम्प सञ्चालन गरेको थियो ।

अत्याधुनिक प्रविधि जडान गरिएको उक्त पम्प व्यवसायीले अनुशरण गर्न सकुन् भनेर निर्माण गरेको प्रबन्ध निर्देशक पौडेलले बताए ।

एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी रहेको उक्त पम्पमा इटालियन अटोट्यांक गेजिङ प्रविधि जडान गरिएको छ। इन्धन ढुवानी गर्ने ट्यांकरबाट पम्पमा तेल अनलोड गर्दादेखि सवारी साधनमा तेल भर्नसम्म सबै डिजिटल प्रविधि जडान गरिएको छ।

पम्पमा तेल अनलोड भएदेखि ट्यांकीमा भएको र बिक्री भएको सबै जानकारी कम्युटर प्रणालीमार्फत लिन सकिने भएकाले चुहावट नहुने दाबी गरिएको छ । यसमा पूर्ण पारदर्शीको ग्यारेन्टीसमेत गरिएको छ ।

निजी क्षेत्रले सञ्चालन गरेका पम्पहरु व्यवस्थित नभएको गुनासो आइरहेको अवस्थामा निजीलाई प्रोत्साहित गर्ने उद्धेश्यले यो नमूना पम्प संचालनमा ल्याइएको हो ।

उक्त उद्घाटन कार्यक्रममा निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराई, वितरण विभाग प्रमुख दीपक बराल, निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here