नेप्सेको सीइओको लागि पाँच जना सर्टलिस्टमा, कसको सम्भावना बलियो ?

काठमाडौं, २३ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)का चयनको लागि पाँच जनाको नाम चयन भएको छ ।

नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरेको हो । उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए ।

आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी,केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए ।

छनोट भएका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन् ।

आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ ।

छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको छ । सिफारिस समिति समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।

उल्लिखित ५ जनामध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीइओ छान्नेछ ।

श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । साउदले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

अन्तवार्ताका लागि छनौट भएकाहरु मध्य रमेश घिमिरेको सम्भावना बलियो रहेको बताइन्छ । उनि पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव सचिव समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here