नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने प्रक्षेपण, भारत र बंगलादेशको उच्च

काठमाडौं, २८ पुस । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने प्रक्षेपण गरेको छ ।

सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताइरहेका बेला विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत प्रक्षेपण गरेको छ ।

विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको हो ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एशियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्वअर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।

दक्षिण एसियामा भारत र बंगलादेशको आर्थिक वृद्धिदर भने सन् २०२२ र सन् २०२३ मा पनि उच्च रहने प्रक्षेपण छ । भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ८.३ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ८.७ प्रतिशत हुने प्रक्षेपण छ ।

बंगलादेशको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.४ प्रतिशत र आगामी वर्ष ६.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । त्यस्तै, भुटानको आर्थिक वृद्धिदर सन् २०२२ मा ५.१ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ४.८ प्रतिशत रहने प्रक्षेपण छ ।

सन् २०२१ मा २२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मालदिभ्सको आर्थिक वृद्धिदरमा संकुचन आएर सन् २०२२ मा ११ प्रतिशत र सन् २०२३ मा १२ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here