दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती

काठमाडौं २, माघ । सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिन्दा तथा हाल काठमाडौंको काँडाघारीमा बस्दै आएका श्यामबहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपील गरेका हुन् ।

गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बेद्धीमायाले बताइन् । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दशैंपछी सम्पर्कविहीन भएको उनले बताइन् ।

रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुवई पुगेर काम गर्न थालेकाले उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने देखिन्छ । उक्त रकम आफुहरुसँग नभएको मृतक विकासका बावु श्याम बहादुर भुजेलले बताए ।

‘छोराले धेरै कर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीहरुको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,’ भुजेलले भने । नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् । साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन् ।

विकास भुजेल

संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन् । पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफुले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहेका छन् । त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।

गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दशैं लगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दपत्तीले गत साता मात्र पाएका थिए । उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here