चीनसँग नाकामा हुने व्यापार बैकिङ प्रणालीमा ल्याइने

काठमाडौं १८, असार । सरकारले चीनसँगको नाकामा हुने ब्यापार बैकिङ प्रणालीमा ल्याउने भएको छ । चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा बुधबार अर्थसचिव राजन खनालले यस्तो बताएका हुन ।

चीनसँगको नाकामा हुने ब्यापार बैंकिङ मार्फत गराउने तयारी सरकारले गरेको र त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न लागिएको खनालले बताए ।
भन्सारमा रोकिएको फलफूल र तरकारी छुटाउने बारेमा सरकारले प्रक्रिया अघि बढाइएको पनि उनले बताए । सरकारी निकायबीच आवश्यक समन्वय नहुँदा समस्या आएको जनाउँदै उनले भने, ‘बिहीबारसम्म यो बिषय सल्टाउने पक्षमा छलफल भएको छ ।’

भन्सारमा रोकिएका नेपाली व्यवसायीका समानमा समेत परिणाम दिनेगरि सरकारले छलफल गरिरहेको र भोलिसम्ममा व्यवसायीले सुखद खबर सुन्न पाउने आश्वासन उनले दिए ।

विद्यमान आर्थिक क्षेत्रमा देखिएका समस्या तथा निजी क्षेत्रसँग सम्बन्धित विषयहरुमा नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रालयका सचिवद्धय तथा विभिन्न सरकारी निकायका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेको हो । छलफलमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा आएका कर नीति सम्बन्धि व्यवसायीका गुनासो राखेका थिए ।

‘सम्पत्ति शुद्धिकरणका विषयमा सरकारको नीति उद्योगी व्यवसायी तर्साउने खालको छ,’ उनले भने, ‘भ्रष्टाचार तथा अनियमितालाई मात्रै समावेश गर्ने खालको निति अपनाउनुपर्छ ।’

भेटमा राजस्व सचिव लालशंकर घिमिरेले राजस्व परामर्श समितिको सुझाब प्रभावकारी नदेखिएकाले यसलाई छुट्टै बोर्ड बनाएर काम गर्ने योजना सरकारको रहेको बताए । यो प्रक्रियामा निजी क्षेत्रको राय समेटिने उनले आश्वासन दिए ।

सरकारले जाने बुझेर नै किताबमा १० प्रतिशत भन्सार कर लगाएको घिमिरेले बताए । ‘यो प्रयोग विदेशमा समेत छ, नेपालले न्यूनतम कर मात्रै लगाएको हो,’ उनले भने, ‘यो कर लगाउँदा नेपाली मुद्रण उद्योगलाई समेत टेवा पुग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here