आइतवारदेखि शेयर ब्रोकरलाई मार्जिन कारोबार गर्ने अनुमति दिईंदै, ब्याजदर बजारको जिम्मा अनि अनुगमन र सुपरिवेक्षणको जिम्मा नेप्सेलाई

क्लाउडपत्रिका
काठमाडौं, १९ माघ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतवार धितोपत्र ब्रोकरहरुलाई मार्जिन कारोबार गर्न निर्देशन दिने भएको छ । यससँगै ब्रोकरहरुले पनि मार्जिन कारोबारका लागि प्रक्रिया अघि बढाउने भएका छन् ।

करीब एक वर्षदेखि मार्जिन कारोबारको तयारी गरिरहेकाले नेप्सेको निर्देशनसँगै त्यसको शुरुवात गर्ने अवस्था रहेको ब्रोकरहरुले बताएका छन् । पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा उपलब्ध गराउनका लागि शुक्रवार नेप्सेलाई निर्देशन दिएको थियो ।

धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तरराष्ट्रिय अभ्यासअनुरुप मार्जिन कारोबार सुविधा उपलब्ध गराउने, दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि गर्ने तथा धितोपत्र ब्रोकरको दायरा विस्तार गर्ने उद्देश्यले सेबोनले गत कार्तिकमै नेप्सेलाई मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन जारी गरेको थियो । सोही अनुरुप नेप्सेले पनि त्यसका लागि कार्यविधि तयार गरिसकेको छ ।

सेबोनले मार्जिन कारोबारमा परिचालित हुने ऋणको व्याजदर बजारको जिम्मामा छाडिदिएको छ । त्यस्तो व्याजदर धितोपत्र ब्रोकर र ग्राहकवीच हुने सम्झौतामा उल्लेख भएबमोजिम हुने छ भने ब्रोकरले मार्जिन सुविधा दिए वापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनु पर्ने छ ।

साथै, धितोपत्रको मार्जिन कारोबार सुविधाका विविध पक्षबारे सुसूचित नभइ लगानी गरेमा मार्जिन कारोबारमा जोखिम बढ्ने हुँदा यो सुविधा लागु गर्नुअघि लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन सचेतनामूलक कार्यक्रम गर्न नेप्से र ब्रोकरलाई निर्देशन दिइएको छ । बजारको अनुगमन गर्ने र स्वच्क्षता कायम गर्ने जिम्मा पनि नेप्सेलाई नै दिइएको छ ।

‘यस मार्जिन कारोवार सुविधा अभ्यासमा आएपश्चात मार्जिन कारोवारको लागि धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप तथा नियमन/सुपरिवेक्षण गर्ने समेत व्यवस्था गरिएको छ,’ सेबोनले भन्यो ।
रु. ५ करोड नेटवर्थ भएका ब्रोकरहरु मार्जिन सुविधा दिन योग्य हुने छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here