६८ अर्ब डलरमा क्याण्डीक्रस निर्माता कम्पनी किन्दै माइक्रोसफ्ट, हालसम्मकै ठूलो प्राप्ति

काठमाडौं, ५ माघ । माइक्रोसफ्टले भिडियो गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजर्ड किन्ने भएको छ ।

भिडियो गेमका ठूला र सफल कम्पनीमध्येको एक एक्टिभिजनलाई उसले ६८.७ अर्ब अमेरिकी डलर अर्थात करीब पौने ८२ खर्ब नेपाली रुपैयाँमा किन्ने सम्झौता गरेको छ । सो सम्झौता मंगलबार भएको एजेन्सीहरुले बताएका छन् ।

सन् २०१६ मा माइक्रोसफ्टले २६ अर्ब डलर (३१ खर्ब रुपैयाँ)मा लिंक्डइन किनेको थियो । त्यसपछिको यो सबैभन्दा ठूलो डिल भएको बताइएको छ ।

एक्टिभिजनका लागि माइक्रोसफ्टले प्रतिसेयर ९५ डलर तिर्ने भएको छ । यो भनेको उसको हालको बजारमूल्य भन्दा धेरै हो । मंगलबार एक्टिभिजनको सेयर मूल्य २५ प्रतिशतले बढेर ८२.३१ डलर पुगेको छ ।

नयाँ डिलको समाचारसँगै माइक्रोसफ्टकै सेयरको मूल्य पनि २ प्रतिशत भन्दा बढीले माथि गएको छ ।

एक्टिभिजन कल अफ ड्युटी, टोनी हक्स प्रो स्केटर र क्याण्डीक्रश जस्ता चर्चित र सफल गेमहरुको निर्माता हो ।
तर पछिल्ला केही महिनामा कम्पनी आफ्ना उच्च अधिकारीहरुद्धारा यौन दुव्र्यवहार भएको खबरका कारण विवादमा आएको थियो । यद्यपि अनुसन्धानपछि उसले दर्जनौं कार्यकारीहरुलाई जागीरबाट निकालेको थियो ।

हाल माइक्रोसफ्टले एक्सबक्स नामक गेमिङ प्लाटफर्म सञ्चालन गरिरहेको छ । यसलाई गेमिङका लागि गूगलको प्लेस्टोरको विकल्पमा पनि हेरिएको छ ।

यसअघि माइक्रोसफ्टले माइनक्राफ्टको निर्माता मोजाङलाई सन् २०१४ मा किनेको थियो । गत वर्ष यसले अर्को गेम निर्माता बेथेस्डालाई पनि प्राप्ति गरेको थियो । मेटाभर्स भनिने भचुअल वल्र्डमा मेटा (फेसबूकको सञ्चालक)सँग प्रतिस्पर्धा गर्नका लागि पनि यो नयाँ डिलले माइक्रोसफ्टलाई सघाउने अपेक्षा गरिएको छ ।
(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here