नेपाली श्रमिक इजरायल लैजान शुरु, मासिक २ लाख पारिश्रमिक

काठमाडौं, ६ माघ । जी टू जी प्रक्रियाबाट पहिलो पटक नेपाली श्रमिकलाई इजरायल लैजान थालिएको छ ।

दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भएका मध्ये पहिलो चरणमा ९९ जना नेपाली श्रमिक बुधबार इजरायल प्रस्थान गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।

निजी क्षेत्र तथा बिचौलीयारहित सरकार(सरकार (जिटुजी) प्रक्रियामार्फत श्रमिक पहिलोपटक इजरायल प्रस्थान गरेका हुन् । उनीहरुको पारिश्रमिक मासिक २ लाख हाराहारी रहेको छ । सो क्रममा मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे ।

इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास उनको छ । बुधबार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक इजरायल उडेका हुन् ।

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुँदैछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्िसरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here