पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक १ अर्ब ८८ करोड नोक्सान

काठमाडौं ८ माघ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि यतै साता मूल्य समयोजन गरेको आयल निगमको घाटा भने घटेको छैन् ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करीब १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ ।

निगमले तीनदिन अघिमात्र पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो । निगमलाई उच्च घाटा खाना पकाउने ग्यासमा छ ।

तर, ग्यासको मूल्य भने बढाइएको छैन । निगमका प्रवक्ता बिनित मणि उपाध्यायले प्रेस विज्ञप्ति जारी गर्दै घाटाको क्षति न्युनीकरण गर्न मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ उपलब्ध हुने जनाएका छन् ।

नियमले इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने दोस्रो किस्ता बापतको अपुग रकम कोषसँग माग गरेको थियो । कोषले रकम उपलब्ध गराउँदा पेट्रोलियम पदार्थको सहज आपूर्ति बनाइराख्न निगमलाई मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here