एमालेको १५ बुँदे असहमति: ‘सरकार असफल दिशातर्फ, अर्थतन्त्रका सबै सूचकमा अनिष्टको संकेत’

फाइलफोटो

काठमाडौं, ९ माघ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन् ।

आइतबार एमालेको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत ओलीले देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाएका हुन् ।

एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई विस्थापित गर्दै ल्याइएको बजेटले विकासका कार्यहरु ठप्प भएको टिप्पणी एमालेको छ ।

त्यस्तै राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार मुलुक थप आर्थिक रुपमा संकटतिर धकेलिएको संकेत गरेको उल्लेख गरिएको छ ।

१५ बुँदे वक्तव्यमा भनिएको छ, ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् ।’

चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने रट लगाएको वर्तमान सरकारले विगत तीन वर्षकै अत्यन्त न्यून अर्थात् १३.४४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको तथा विकास साझेदारको विश्वास समेत गुमाउँदै गएको जारी वक्तव्यमा भनिएको छ ।

यसैगरी, उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको, असार मसान्तमा करिब १०.८ महिनाको वस्तु र सेवाको आयात धान्न पर्याप्त (रु १३ खर्ब ९९ अर्ब ३ करोड बराबरको) विदेशी विनिमय सञ्चिति रहेको, वर्तमान सरकार गठन भएको पहिलो पाँच महिनामा यो सञ्चितिमा १३.२ प्रतिशतले कमी आएको एमालेको भनाइ छ।

मुद्रास्फितिदर ६ वर्षयताकै बढी ७.११ प्रतिशत पुगेको, व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भएको, विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दै गएको, विष्प्रेषण आप्रवाहमा गत वर्षको तुलनामा ६.८ प्रतिशतले कमी आएको ’ जारी वक्तव्यमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here