क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको छ ।

पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्र बैंकको विज्ञप्ती भनिएको छ, ‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा गर्न र जोसियल, क्राउड वान, सोले म्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ ।’

नेपालमा विदेशी विनिमय वा मुद्रा रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी ले कानूनी मान्यता नपाएको राष्ट्र बैंकले जानकारी दिएको छ । गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकको भनाइ छ ।

त्यस्ता करोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here