अब विमानस्थल भित्र ब्यानर र होर्डिङ बोर्ड बन्द, डिजिटल बोर्डमात्र प्रयोग गरिने

क्लाउडपत्रिका
काठमाडौं १९ माघ ।
अब देशका कुनै पनि विमानस्थलमा ब्यानर र होर्डिङ बोर्ड देखिने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको विज्ञापन नीति, २०७५ अनुसार अब विमानस्थल क्षेत्रमा विज्ञापनका लागि ब्यानर तथा बोर्ड राख्ने पद्धतिलाई निरुत्साहित गरिनेछ । विमानस्थल भित्रको सुन्दरता कुरुप बनाउने भन्दै होर्डिङ बोर्ड र ब्यानर राख्ने नीतिमा प्रश्न उठ्ने गरेको थियो । अब भने सबै विमानस्थलमा आन्तरिक तथा बाह्य सुन्दरता बढ्ने गरी डिजिटल बोर्डलाई मात्र प्रोत्साहन गर्ने नीति लिइएको प्राधिकरणले जानकारी दिएको छ ।

खासगरी नेपाल सरकारले निषेध गरेका, मद्यमान, धुमपानलगायत स्वास्थ्यमा प्रतिकुल असर पुग्ने खालका वस्तु र सेवाको विज्ञापनमा पनि प्राधिकरणले रोक लगाएको छ । सरकारले लिएका नीति, विशेष कार्यक्रम, उत्सव तथा महोत्सवको प्रवर्द्धनका लागि भने निश्चित समय तोकेर विमानस्थलभित्र विज्ञापन राख्न सकिने बताइएको छ ।


पर्यटन प्रवद्र्धन गर्ने खालका विज्ञापनमा जोड
अब देशभरका विमानस्थलभित्र व्यापारिक प्रयोजनभन्दा पनि पर्यटन प्रवर्द्धनमुलक विज्ञापन सजिने भएका छन् । विमानस्थललाई मुलुक चिनाउने पहिलो ऐनासमेत मानिन्छ । भनिन्छ, विमानस्थलबाटै धेरै मानिसले उक्त देशबारे आफ्नो धारणा बनाउने गर्छन् । सरकारले त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा विकास गर्ने र त्यहाँ रहेका व्यापारिक प्रतिष्ठानका विज्ञापन हटाएर मौलिक नेपालीपनः झल्कने डिजिटल बोर्ड राख्ने योजनाअनुसार अहिले काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here