वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुन्‍न कल सेन्टर, यी नम्बरमा सिधै फोन गर्नुहोस्

काठमाडौं, १६ माघ । तपाइ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ?

अब तपाइ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाइको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्वन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कक्षको उद्घाटन गरेका हुन्।

यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भीसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपुर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो।

अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ।

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ।