जर्मन सहयोगमा प्रसुती गृहले काठमाडौंका चार स्थानमा स्याटेलाइट केन्द्र खोल्ने

काठमाडौं, २० असार । प्रसुतिगृह अस्पतालको सेवा उपत्यकाका थप चार स्थानमा विस्तार हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले उपत्यका भित्रै विभिन्न स्थानमा चार ओटा सम्म प्रसुती गृहका स्याटेलाइट अस्पताल स्थापना गर्ने बताएको हो ।

नेपालको सबैभन्दा ठूलो प्रसुति तथा महिला अस्पतालको रुपमा रहेको प्रसुती गृहले हाल स्थान अभाव झेलिरहेको छ । २०७२ सालको भुकम्पपछि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले थप क्षमता सहितको नयाँ भवन निर्माण गरे पनि सेवाग्राहीको बढ्दो चापले अस्पतालमा समस्या छ ।

प्रसुतिगृह अस्पताल संसारमै सबैभन्दा बढी प्रसुती गराउने अस्पताल हो । यो सँग वर्षमा २४ हजार प्रसुती गराएको अनुभव छ ।

नयाँ स्याटेलाइट केन्द्र स्थापना पछि केन्द्रीय अस्पताललाई रेफरल सेण्टरको रुपमा विकास गर्ने योजना रहेको मन्त्रालयको भनाइ छ । अहिले स्वास्थ्य मन्त्रालयले स्याटेलाइट केन्द्रका लागि जमीन खोजीरहेको छ ।

ति केन्द्रहरु जर्मन सहयोगअन्तर्गत निर्माण हुनेछन् । शुक्रवार अर्थ मन्त्रालयमाआयोजित एक कार्यक्रममा नेपालका लागि जर्मन राजदूत रोल्याण्ड शेफरले करीब ९० करोड रुपैयाँ स्वास्थ्य क्षेत्रअन्तर्गत सहयोग उपलब्ध गराउने बताएका छन् । सो सहयोग प्रसुती गृहको विकासमा लगाइने भएको हो ।

जर्मन सरकारले नेपाललाई ऊर्जा, स्वास्थ्य तथा आर्थिक विकासका लागि कुल ३ अर्ब २ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । सो सम्झौतापत्रमा शुक्रवार नै अर्थसचिव राजन खनाल र जर्मन राजदूत शेफरले हस्ताक्षर गरेका छन् ।

तीन वर्षभित्र कार्यान्वयन गरिने ग्रामीण सौर्य ऊर्जा, मातृ शिशु स्वास्थ्यमा सुधार र दीगो आर्थिक विकासका परियोजनामा सो सहयोग उपयोग गरिने खनालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here