दूधको मूल्य प्रतिलिटर ६.५२ रूपैयाँ बढ्यो, दूध व्यवसायको जीडीपीमा ५ प्रतिशत योगदान

काठमाडौं १७ माघ । सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।

दूध व्यवसायले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ।

नेपालमा वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन पुगेको तथ्याङ्क छ। उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भैसीको छ। दूध कृषि उत्पादनको एक मुख्य नगदेबाली हो।

राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गर्न सिफारिस गरेको थियो ।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल प्रशोधित दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाउन प्रस्ताव गरेको थियो ।

विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको छैन।

आर्थिक वर्ष २०६७/ ६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो।

२०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here