स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने सहितको ६ पृष्ठ लामो आयोगको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं १८ माघ । निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले जेठ ४ गते एकै दिन निर्वाचन गर्नेसहितको ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो।

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्ने बारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राखेका थिए । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराएका हुन् ।

आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन।

निर्वाचन आयोगले यसअघि पनि पटकपटक सरकारलाई बैशाख भित्रै स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गर्दै आएको थियो ।

गत शनिबार सत्ता गठबन्धन बीच जेठभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो । विपक्षी दल एमालेले पनि लामो समयदेखि निर्वाचनको माग गर्दै आएको थियो ।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवं कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here