काठमाडौं, १९ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैले चाहँदैमा पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् ।
बुधबार अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरू मिलेर अगाडि बढ्ने बताएका हुन् ।
उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए।
अध्यक्ष नेपालले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस् । यो गठबन्धन फुट्नेवाला छैन । कसैले फुटाउन खोजे पनि यो गठबन्धन फुट्नेवाला छैन ।’
आज स्थानीय तहको निर्वाचनकोबारेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले छलफल गरेको पनि जानकारी दिए ।
उनले आफूहरूबीच पत्रपत्रिकामा आएका समाचारहरूको सम्बन्धमा पनि छलफल भएको र गठबन्धन फुट्ने कुरामा सत्यता नरहेको पनि दावी गरे ।
उनले भने, ‘जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति अवलम्वन गर्दै आएका छौँ।
हामीले एकपछि अर्को महत्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ। संविधान जोगाएका छौँ। लोकतन्त्र बचाएका छौँ। संघीयताको रक्षा गरेका छौँ। जेठमा स्थानीय चुनाव हुन गइरहेको छ।