मूल्य बढ्दा पनि निगम घाटा थेग्नै नसक्ने अवस्थामा,अझै मासिक घाटा साढे ४ अर्ब

काठमाडौं, १९ माघ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंगलवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।

लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको घाटा पनि चुलिँदै गएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब २ अर्ब २३ करोड घाटा रहेको छ ।

नयाँ मूल्य सूची अनुसार निगमले इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोल प्रतिलिटर ८४.३२ रुपैयाँमा खरिद गर्ने गरेको छ ।

८४.३२ रुपैयाँमा खरिद गरेको पेट्रोल निगमले काठमाडौं उपत्यकामा प्रतिलिटर १४२ रुपैयाँमा बिक्री गर्ने गरेको छ ।

खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा समेत निगमले प्रतिलिटर १३.२३ रुपैयाँ घाटा, डिजेलमा प्रतिलिटर ११.१३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ ।

भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा रहेको जनाईएको छ ।

आगामी १५ दिनको अवधिमा पेट्रोलमा ४३ करोड, डिजेलमा १ अर्ब १ करोड, ग्यासमा १ अर्ब नोक्सान हुने निगमले जनाएको छ । मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न ऋण लिनुपर्ने बाध्यता रहेको निगमले जनाएको छ ।

निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना ५ अर्ब ऋण लिनुपर्ने अवस्था आएको निगमको भनाइ छ ।

विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा झनै बढेको हो ।

निगमका अनुसार पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि अझै मासिक साढे ४ अर्ब घाटा रहेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here