नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, ३०१५ मिटर खन्न बाँकी

काठमाडौं, २० माघ । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै आधा सम्पन्न भएको हो ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ४३.३५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

अझै ३ हजार १५ मिटर सुरुङ खन्न बाँकी रहेको छ । विहीवार साँझसम्म मुख्य सुरुङमार्ग २ हजार ३८४ मिटर सुरुङ खनिसकिएको छ ।

समग्रमा भने हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ३७ प्रतिशत प्रगति भएको छ ।

कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये ८७५ मिटर खनिसकिएको छ । आयोजना काठमाडौंतर्फ ४३७ मिटर र धादिङतर्फ ४३८ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, आपतकालीन(स्केप) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३४० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७७८ मिटर र धादिङतर्फ ५६२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ भने हालसम्म ४३.४० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २७.८५ मिटर र धादिङतर्फ १५.५५ मिटर निर्माण गरिएको छ ।

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालको कात्तिकमै उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास गरेको ४२ महिनाभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने भएपनि विभिन्न कारणले निर्माण धकेलिएर गत बर्षमात्रै सुरु भएको थियो ।

गत बर्ष निर्माण सुरु गर्दा आयोजनाले भनेबमोजिम समयमै सुरुङमार्ग बनाउने काम सम्पन्न गर्ने बताएको थियो । सुरुङमार्ग निर्माण थालेको करिव १ बर्ष र शिलान्यास गरेको २ बर्ष पुग्दा काम भने ४३ प्रतिशतसम्म भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here