एमसीसी बोर्डलाई देउवा र प्रचण्डको प्रतिवद्धता-‘संसदबाट अनुमोदन गर्छौं’

फाइलफोटो

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलासा भएको छ ।

अमेरिकाले नेपाललाई आगामी फागुन १६ गते (२८ फेब्रुअरी) भित्र एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ।

एमसीसी सम्झौताको विषयलाई लिएर सत्तारुढ दलभित्र विवाद भइरहेको बेला एमसीसी उपाध्यक्ष फातिमा सुमारले एक टेलिभिजन अन्तवार्तामा दाहाल र देउवाले एमसीसी संसदबाट अनुमोदनको लागि समय मागेको खुलासा गरेकी छन् ।

गएको सेप्टेम्बर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ महिनाभित्र संसद्बाट एमसीसी अनुमोदन गरिसक्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै अमेरिकाले शुक्रबार पत्र पठाएको स्रोतले जनाएको छ ।

पत्रमा दुवैले गरेको प्रतिवद्धतालाई सम्मान गर्न आग्रह गरिएको जनाइएको छ ।

एमसीसी उपाध्यक्षले फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन नभए सम्झौतालाई निरन्तरता दिने वा नदिने निर्णय चैत्र ८ मा बस्ने एमसीसी बोर्ड अफ डाइरेक्टर्सको बैठकले निर्णय लिने बताएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी संसद बैठकमा सम्झौतालाई अघि बढाउन चाहेका छन् । तर, सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसको विरोधमा छ ।

नेपालमा हालसम्मकै ठूलो ५० मिलियन डलर अर्थात् करिब ५५ अर्बको अनुदान सहायता संसद्बाट अनुमोदन नहुँदा अघि बढ्न सकेको छैन। साढे दुई वर्षअघि नै सुरु हुनुपर्ने प्रसारणलाइन र सडक परियोजना दलहरुबीचको विवादका कारण संसद्मै टेबुल हुन सकेको छैन।

पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल तीव्र बनाएका छन्।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here