महंगियो भान्सा: तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको तथ्यांक अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ पुसमा यी क्षेत्रहरुमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७२ प्रतिशतले बढेको थियो ।

समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ४.७३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here