सबै बैंकबाट सेयर कारोबारको भुक्तानी गर्न सकिने

काठमाडौं २१, असार । लगानीकर्ताले सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर कारोबारको भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन सेयर कारोबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मा नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली समावेस गरेपछि लगानीकर्ताले यो सुविधा पाएका हुन ।

यस्तो भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था एनसीएचएलमा आवद्ध भएको हुनु पर्छ । हाल ५० भन्दा बढी संस्था एनसीएचएलमा आवद्ध भएका छन् ।
नेप्सेले विज्ञप्तिमार्फत सो जानकारी दिएको हो । यसअघि चार वटा बैंकबाट मात्र सेयर कारोबारको भुक्तानी गर्नु पर्ने व्यवस्था थियो ।

लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।

भुक्तानीका लागि ‘कनेक्ट आईपीएस’ चयन गरेपछि लगानीकर्ताहरु ‘कनेक्ट आईपीएस लगइन’ पेजमा जोडिनेछन् । आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सक्नेछन् ।

लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा ‘कनेक्ट आईपीएस’ वा ‘एनसीएचएल आईपीएस’ प्रणाली मार्फत सिधैं भुत्तानी गर्न सक्नेछन् ।

नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणाली इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो सेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।