शैक्षिक सुधार कार्यक्रममा ४१५७ विद्यालय छनोट, कुन प्रदेशमा कति ?

काठमाडौं, ३ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोटमा परेका छन् ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो ।

जसमध्ये ४ कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।

शिक्षामन्त्री पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए ।

देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।

कुन प्रदेशलाई कति

देशभर मध्ये प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १ सय १९८ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३ सय ४९ विद्यालयमा आइसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा १ सय ९५ विद्यालयमा ४ कोठे भवन, १ सय ३७ विद्यालयलमा दुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापनमा २ सय ८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना ३ विद्यालय छनोट भएका हुन् ।

यस्तै, मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १ सय ९७ विद्यालयमा २ कोठे भवन, २सय ३५ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ५ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ४ वटा विद्यालय छनोट भएका छन् ।

सुदुरपश्चिम प्रदेशमा १ सय ४१ विद्यालयमा ४ कोठे भवन, १ सय ७९ विद्यालयमा दुई कोठे भवन, २ सय ७० विद्यालयमा आइसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।

भुकम्पबाट प्रभावित बागमति प्रदेशका जिल्लाहरुमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए ।

चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४ सय ९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना ४ छनोट भएका छन् ।

यस्तै, गण्डकीमा १ सय ३० विद्यालय ४ कोठे, १ सय २५ दुई कोठे, २ सय ५५ आइसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।

कर्णालीमा १ सय १० विद्यालयमा ४ कोठे भवन, १ सय ३८मा दुई कोठे भवन, २ सय २५ विद्यालयमा आइसीटी ल्याब, प्राविधिक ल्याब २ र नयाँ प्राविधिक विद्यालय स्थापना २ छनोट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here