कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा

(Photo by Johannes EISELE / AFP)

काठमाडौं, १८ फागुन । विश्व बजारमा कच्चा तेलको भाउ आठ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल १०८ दशमलव ७७ अमेरिकी डलर पुगेको हो ।

यसअघि सन् २०१४ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १०९ डलर पुगेको थियो ।

एकसातामै क्रुड आयलको मूल्य प्रतिब्यारेल झन्डै १५ डलरले बढेको छ । प्रतिबन्धको परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र गतिमा बढिरहेको छ ।

रुस युक्रेन बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ ।

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

नेपालमा कस्तो प्रभाव पर्ला ?

जानकारहरुको अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्ने बित्तिकै नेपालमा तेलको मूल्य बढ्दैन् । तर, तेलको मूल्य बढ्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्नेछ ।

यसले आगामी दिनमा आउने विप्रेषणलाई भने अप्रत्यक्ष नकारात्मक असर गर्ने उनीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ ।

लगातार कच्चा तेलको मूल्य बढ्दा त्यसको निकट भविश्यमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित भएको छ ।

यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here