ग्यासको मूल्य सात वर्षयताकै उच्च विन्दुमा, कच्चा तेल प्रतिब्यारेल ११६ डलर नाघ्यो

gettyimages

काठमाडौं, १९ फागुन । विश्व बजारमा कच्चा तेलको भाउ आठ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल ११६ दशमलव ९४ अमेरिकी डलर पुगेको हो ।

विहीवार यो समाचार तयार पार्दा (विहीवार १२:३० मा) ब्रेन्ट क्रुड, तेल मूल्यको अन्तरराष्ट्रिय बेन्चमार्के, प्रतिब्यारल ११६.९४ डलर र क्रुड आयल ११४.२४ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो ।

अन्तरराष्ट्रिय उर्जा एजेन्सीका सदस्यहरुले आपतकालीन भण्डारबाट ६० मिलियन ब्यारल तेल छोड्ने सहमति भएसँगै मूल्य बढ्न पुगेको बताइएको छ ।

रुस विश्वको एक ठूलो उर्जा उत्पादक हो । युक्रेनमा रुसको आक्रमणको चिन्ताले तेल वा ग्याँस आपूर्ति प्रभावित हुन सक्ने त्रास लगानीकर्ताहरुमा छाएको छ ।

युक्रेन संकटका कारण ग्यासको मूल्य पछिल्लो सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार ग्यास २.६० प्रतिशतले बढेर ४.८८ डलर पुगेको छ।

प्रतिबन्धको परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र गतिमा बढिरहेको छ ।

रुस युक्रेन बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ ।

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

नेपालमा कस्तो प्रभाव पर्ला ?

जानकारहरुको अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्ने बित्तिकै नेपालमा तेलको मूल्य बढ्दैन् । तर, तेलको मूल्य बढ्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्नेछ ।

यसले आगामी दिनमा आउने विप्रेषणलाई भने अप्रत्यक्ष नकारात्मक असर गर्ने उनीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ ।

लगातार कच्चा तेलको मूल्य बढ्दा त्यसको निकट भविश्यमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित भएको छ ।

यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here