फेसबुकपछि रुसले लगायो ट्वीटर र युट्युबमाथि प्रतिबन्ध

काठमाडौं । रुसले फेसबुकमाथि प्रतिबन्धको लगाएको केही दिनपछि ट्वीटर र युट्युबमाथि पनि प्रतिबन्ध लगाएको छ। रुसी सञ्चारमाध्यम तासका अनुसार रुसको मिडिया नियामक रोस्कोनाडजोरले युट्युबमाथि प्रतिबन्धको निर्णय गरेको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार क्रेमलिन लाइनविरुद्धका मिडिया र व्यक्तिमाथिको कारबाहीलाई तीव्र बनाउने बताएका थिए ।

त्यस्तै अर्को रुसी सञ्चारमाध्यमक इन्टरफेक्सले रुसमा ट्वीटर प्रतिबन्धित भएको समाचार प्रकाशित गरेको छ। मिडिया नियामकले आफ्नो वेबसाइटमा प्रकाशित गरेको सूचना अनुसार ट्वीटरको पहुँच सीमित पारिएको छ।

२४ फेब्रुअरीमा रुसको महाभियोजक कार्यालयको निर्णयअनुसार यस्तो कदम चालिएको वेबसाइटमा उल्लेख छ। फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। रुसी कम्पनीमाथि प्रविधि कम्पनीहरुले पक्षपातपूर्ण व्यवहार गरेको रुसको आरोप छ।

फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना अन्य प्लेटफर्महरु इन्स्टाग्राम र ह्वाट्सएप भने रुसमा चलिरहेको बताएको छ।

बीबीसी, अमेरिकी सरकारद्वारा अनुदानप्राप्त भ्वाइस अफ अमेरिका र रेडियो फ्री युरोप/रेडियो लिबर्टी, जर्मन प्रसारक ड्युचे वेले र लाट्भियामा आधारित वेबसाइट मेडुजामाथि प्रतिबन्ध लगाइएको छ। रुसी भाषामा समाचार प्रकाशन गर्ने विदेशी मिडियाविरुद्ध पनि व्यापक कारबाही थालिएको छ।

रुसी सशस्त्र सेनालाई बदनाम गर्न नक्कली सूचना फैलाउनेविरुद्धको कानुनलाई शुक्रबार सांसदहरुले अनुमोदन गरेका छन्। उक्त कानुन उल्लंघन गर्नेलाई १.५ मिलियन रुबल जरिवानाको व्यवस्था गरिएको छ।

रुसी कदमका कारण मिडिया हाउस बन्द हुने क्रम जारी छ भने पत्रकारहरु देश छाड्न बाध्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here