कोरीयाली महिला उद्यमी संघले नेपाली व्यवसायीलाई प्राविधिक सहयोग दिने

काठमाडौं, २३ असार । कोरीयाली महिला उद्यमी संघले नेपाली महिला उद्यमीले सञ्चालन गरेको व्यवसायको क्षमता विकासका लागि संभाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

त्यसका लागि नेपाली उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति र कोरियाली महिला उद्यमी संघवीच सोलमा एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा समितिका सभापति कमला श्रेष्ठ र संघको इञ्चोन शाखाका सभापतिले हस्ताक्षर गरेका छन् ।

महिला उद्यमशीलताको विकासमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थावीच सहमति भएको महासंघले जनाएको छ ।

महिला उद्यमीहरूद्वारा संचालित व्यापार व्यवसायमा सहयोग एवं सहकार्य गर्ने, आपसी सम्पर्क विस्तारका माध्यमबाट सहकार्यका क्षेत्रहरू पहिचान गरी सहयोग बढाउने, सूचना तथा व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, महिला उद्यमीहरूद्वारा संचालित उद्योग व्यवसायको क्षमता अभिवृद्धिका लागि सम्भाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलव्ध गराउने कुरा सहमतीपत्रमा उल्लेख गरिएको छ ।

नेपाल र कोरिया बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले श्रेष्ठको नेतृत्वमा कोरियाको भ्रमणमा गएको महासंघको प्रतिनिधिमण्डलले कोरियाको साना तथा मझौला उद्यमीहरूको संस्थासँग आवद्ध उद्यमी व्यवसायी, गैरआवासीय नेपाली र नेपाली दूतावासका पदाधिकारीसँग भेटवार्ता गरी दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा गहन छलफल गरेको थियो ।

कोरियाका उद्यमी व्यवसायीहरूले नेपालको आर्थिक विकासमा सहयोग, सहकार्य गर्न र महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सघाउने इच्छा प्रकट गरेको महासंघले बताएको छ ।

प्रतिनिधिमण्डलमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू राजकुमार न्यौपाने, सुनिल गोपाल श्रेष्ठ, महिला उद्यमीहरू र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ सहभागी थिए ।साताव्यापी भ्रमण पुरा गरी सो प्रतिनिधिमण्डल सोमबार स्वदेश फर्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here